झापामा प्रतिनिधिसभातर्फ तीन सांसद दोहोरिए


९ मंसिर २०७९, शुक्रबार १४:०१ मा प्रकाशित


भावना लिङ्देन,

झापा । झापामा प्रतिनिधिसभा तर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको छ । मंसिर ४ गते सम्पन्न आमनिर्वाचन अन्तर्गत प्रत्यक्ष निर्वाचनको मतपरिणाम आइसकेको छ । जसअन्तर्गत नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीसहित दुई जना सांसद दोहोरिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान् सांसद लालप्रसाद साँवा दोहोरिएर निर्वाचित भएका छन् ।

ओलीले झापा ५ बाट ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गरेका हुन् । पराजित खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई पराजित गरेका थिए । झापा ३ मा पनि ०७४ कै नतिजा दोहोरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन ४० हजार ६ सय ४८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णप्रसाद सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका छन् ।

झापा ४ मा पनि सांसद दोहोरिएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू २९ हजार ३ सय १५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पराजित गरेका हुन् । पराजित देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा समेत साँवाले थेबेलाईनै पराजित गरेका थिए ।

जिल्लामा दुई निर्वाचन क्षेत्रले भने नयाँ सांसद पाएको छ । क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ६ सय९७ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरेका हुन् । पराजित भद्रप्रसाद नेपालले २६ हजार ४ सय ४१ मत ल्याएका छन् । घिमिरे पहिलो पटक यस क्षेत्रबाट निर्वाचन लडेका हुन् ।

झापा १ बाट तेस्रो प्रयासमा नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्मा संसद छिर्र्न सफल भएका छन् । शर्माले ३९ हजार ६ सय २४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गरेका हुन् ।

पराजित अग्निप्रसाद खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन् । शर्मा यसअघि ०७४ र ०७० मा यही क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीसंग पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here