प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिसको विजयी सुरुआत


१३ कार्तिक २०७९, आईतवार १६:३० मा प्रकाशित

झापा । आइतबारबाट काठमाडौंमा सुरु पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो । पुलिसले दिएको २ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनीङ खेले । यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए । बागमतीका नन्दन यादबले २ विकेट लिए । रामनरेश गिरी, सुर्य तामाङ र सोनु देबकोटाले १÷१ विकेट लिए । यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो । एपीएफले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here