एजेन्सी । भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल भत्किदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
आइतबार राजस्थानको बाडमेर जिल्लाको जसोल गाउँमा आएको हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यहरुको अनुसार केही व्यक्तिलाई करेन्ट लागेर मृत्यु भएको थियो भने केहीको भत्किएको संरचनाले किचेर मृत्यु भएको हो । उक्त धार्मिक समारोहमा झन्डै तीन सय मानिस सहभागी भएका थिए ।
प्रहरीका अनुसार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो । आइतबार दिउँसो हावाहुरी र पानीकाले पालको एउटा भाग भत्काइदियो । त्यतिबेला पालभित्र झन्डै सय जना मानिस थिए ।
घाइतेमध्ये केही व्यक्तिको स्थिति गम्भीर रहेको बताइएको छ । राज्यका विपद् व्यवस्थापन तथा राहत मन्त्री भँवरलाल मेघवालले पानी परेको प्रतिकूल परिस्थितिमा आयोजकले विद्युत् आपूर्ति बन्द नगरेकोमा आश्चर्य प्रकट गरेका छन् । घटनाबारे छानबिन सुरु भएको बताइएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपयाँ दिने घोषणा गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनालाई दुर्भाग्यपूर्ण भन्दै शोकमा परेका परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।





