स्वागत नेपालः ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’का अभियन्ता जनताको घरदैलोमा


५ कार्तिक २०७९, शनिबार ०७:५० मा प्रकाशित

झापा । ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ जस्ता अनेकौं जनपक्षीय कामका अभियन्ता स्वागत नेपाल अहिले झापा क्षेत्र नं २ का लागि प्रतिनिधि सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्वसाधारणका घरदैलोमा पुग्ने गर्नुभएको छ ।

सर्वसाधारणसंग उहाँले भन्ने गर्नुभएको छ, ‘सांसद कस्तो हुनुपर्छ भन्ने म देखाउनैछु ।’

१२ बर्ष अघि सर्वोच्च अदालतले चुनावका उम्मेदवारहरूले जनताले अस्वीकार गर्ने प्रावधान कार्यान्वयनका लागि सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो ।

तर आदेश आजका मितिसम्म कार्यान्वयनमा आउन सकेको छैन । जुन आदेश पाउनका लागि अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा लामोसमय संघर्ष गर्नुभयो ।

अहिले झापाको क्षेत्र नं २ बाट उनै स्वागत नेपाल प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँ दिनभर मतदातासंग भेट्न दौडाहामा हुनुहुन्छ । बेलुका डेरामा आउनुहुन्छ, दिनभरको थकान मेटाउन भुईंमा सुत्नुहुन्छ।

एउटा सिद्धहस्त कानुन व्यवसायी तथा पत्रकार नेपाल अहिले बेथिति अन्त्य गर्न भन्दै मतदातासंग मत मागिरहनु भएको छ । गाउँ-गाउँ गइरहनु भएको छ । चोक-चोकका मान्छेसंग भेटघाट गरिरहनु भएको छ ।

अहिले उहाँ ‘राइट टु रिकल’का लागि संघर्षरत हुनुहुन्छ । जितेर गएका उम्मेदवारले जनताका लागि काम नगरे उनलाई दिएको मत फिर्ता गरेर सांसद पदबाट नै फिर्ता गराउनुपर्छ भनेर आफू संघर्षरत रहेको नेपाल बताउनुहुन्छ ।

नेपाल भन्नुहुन्छ, ‘जनताले पठाएका मान्छेले जनताकै काम गरेनन् भने उनलाई फिर्ता किन नबोलाउने ?’

त्यस्का अतिरिक्त आफू प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्थाको पक्षमा रहेको उहाँले बताउनु भएको छ । ‘संसदमा देखिएको बेथिति र सरकार ढाल्ने र नयाँ बनाउने षड्यन्त्र विरुद्ध पनि मेरो उम्मेदवारी हो,’ उहाँले शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

देशको राजनीतिमा देखिएका बेथितिविरुद्ध देशभर स्वतन्त्र उम्मेदवारहरू यस पटकको चुनावमा बढी देखिएको नेपालले बताउनुभयो ।

देशभरका युवाले देशको राजनीतिमा सिर्जनशील हस्तक्षेप चाहेकाले स्वतन्त्र उम्मेदवारहरूको संख्या उल्लेख्य बृद्धि भएको नेपालले बताउनु भयो । अब पनि राजनीतिमा युवाले हस्तक्षेप नगरे देशमा विकृति अझ बढ्ने उहाँको भनाइ थियो ।

उहाँले आफ्नो उम्मेदवारी कुनै पनि दल, दलका नेता तथा समूहविरुद्ध नभएको बताउनु भयो । देशमा बढेको भ्रस्टाचार, अन्याय, अविकास, बेथिति तथा राज्यको अराजकताविरुद्ध आफूले उम्मेदवारी दिएको नेपालको दाबी थियो ।

आफूले नै उन्नत लोकतान्त्रिक पार्टी स्थापना गरेको तर आफूले चुनावमा भाग लिने अडान राखेको र पार्टीको बहुमत सदस्यले चुनावमा भाग नलिने अडान राखेपछि ती बहुमत सदस्यले आफूलाई पार्टीबाट कारबाही गरेको उहाँको भनाइ थियो ।

उहाँले उक्त पार्टीसंग आफ्नो कुनै सम्पर्क र संलग्ना नरहेको दाबी गर्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here