झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१५ आश्विन २०७९, शनिबार १८:०१ मा प्रकाशित

झापा । प्रतिनिधिसभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

झापाका ५ वटा निर्वाचन क्षेत्रका लागि असोज १५ देखि २० गतेसम्ममा कार्यालय स्थापना गरिसक्ने जिल्ला निर्वाचन कार्यलय झापाले जनाएको छ । सबभन्दा पहिला मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । राजनीतिक दल र पत्रकारहरुको उपस्थितिमा झापा जिल्ला समन्वय प्रमुख विश्वनाथ वरालले ब्यानर पढेर कार्यलयको उदघाटन गर्नुभएको थियो ।सहजरुपमा निर्वाचन गराउन नगरपालिकाहरुसँग सहजीकरण गरेर झापाका लागि निर्वाचन क्षेत्र केन्द्रित कार्यलयको स्थापना गरिएको सहायक निर्वाचन अधिकृत बिरेन्द्र वस्नेतले बताउनु भयो । २० गतेसम्म सम्पूर्ण तोकिएको क्षेत्रका लागि कार्यालय स्थापना गरि २२ गते सर्वदलीय बैठक बोलाइएको उहाँले बताउनुभयो ।

असोज २३ गते विहान १० बजे देखि बेलुकी ५ बजेसम्म मनोनयनको दर्ताको लागि समय छुट्याइएकाले त्यसअघि नै निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसक्नुपर्ने बाध्यकारी अवस्था छ । २३ गते मनोनयन दर्तापछि उम्मेदवारलाई २६ गते निर्वाचन चिन्ह उपलब्ध गराइने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

चाडवाडको बेला भएकाले निर्वाचन अधिकृतको अनुकूलतालाई मध्यनजर गरि निर्वाचन अधिकृतहरुको कार्यालय स्थापनाका लागि असोज २० गतेसम्मको समय तोकिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । झापामा रहेका ५ वटा निर्वाचन क्षेत्रका लागि क्षेत्र १ का लागि मेचीनगर नगरपालिका, क्षेत्र २ को अर्जुनधारा नगरपालिका, क्षेत्र नम्वर ३ मुख्य निर्वाचन कार्यालय र क्षेत्र नम्वर ४ को कार्यालय कनकाई नगरपालिकामा र क्षेत्र नं ५ का लागि दमक नगरपालिकामा कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यलय प्रमुख तुलसी नेपालले बताउनु भयो ।

मनोनयन पत्र दर्ता भएको उम्मेद्ववारको सूची प्रकाशन असोज २३ गते ५ वजे देखि ७ बजेसम्म गरिने भएकाले सम्पूर्ण उम्मेदवारहरुले मनोनयन दर्ता ५ बजे भित्र गरिसक्न निर्वाचन कार्यलयले आग्रह गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २६ गते १ बजेदेखि ३ बजेसम्ममा गरिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here