व्यवसायी मोहम्मदको हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जना पक्राउ


१४ आश्विन २०७९, शुक्रबार १७:५६ मा प्रकाशित

काठमाडौं । प्रहरीले काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर शुक्रबार पत्रकार सम्मेलन गर्दै बिधि र प्रबिधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका तीन जनालाई काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जनाएको हो । पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन् ।

महोरम मियाँ र रेहान मियाँ घटनाको योजनाकार तथा हतियार ब्यवस्थापन तथा सुस्मिता स्याङताङले मृतकको गतिविधिको निगरानी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

उक्त घटनाको सम्बन्धमा पक्राउ परेका उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको बोहराले बताउनुभयो ।

घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन् । पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here