जुनतारा महिला फुटबल क्लब खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश


१३ आश्विन २०७९, बिहीबार २०:०० मा प्रकाशित

झापा । जुनतारा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोलि बनेको हो । जुनतारालाई ४–१ गोलको फराकिलो अन्तरले जिताउन अनिता लम्जेलले ह्याट्रिक गरिन् ।

उनले खेलको १४ औं मिनेटमा पहिलो गोलाई गरेकी थिइन् । अनिताले खेलको ५६ औं मिनटमा दोस्रो र ६३ औं मिनेटमा तेस्रो गोल गरिन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेकी अनिता उमन अफ दि म्याच घोषित भईन् । उनले ट्रफिसहित नगद एक हजार हात पारिन् । जुनताराका लागि थप एक गोल खेलको ४७ औं मिनेटमा लक्ष्मी श्रेष्ठले गरिन् ।

गाईघाट फुटबल क्लब उदयपुरले भने पेनाल्टीको अवसर सदुपयोग गर्न बाहेक खेलमा अन्य स्कोर गर्न सकेन । दोस्रो हाफमा डि बक्स एरियामा फल्ड भएपछि उदयपुरले पाएको पेनाल्टीलाई सदिवा भोलनले गोलमा परिणत गरिन् । क्वाटरफाइनलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५–० गोल अन्तरले पराजित गर्दै जुनतारा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

उदयपुरले सेमिफाइनल प्रवेशकालागि ताप्लेजुङ जिल्ला फुटबल संघलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो । गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि (शुक्रबार) पथरि शनिश्चरे महिला फुटबल क्लब मोरङ र धनकुटा महिला फुटबल संघबिच फाइनल प्रवेशकालागि भिड्न्त हुने छ । भोलिको खेलको विजेताले उपाधिकालागि फाइनल खेलमा आयोजक टिम जुनतारासंग १६ गते प्रतिस्पर्धा गर्ने छ ।

अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here