सुरु भयो दसैं, आज घटस्थापना


१० आश्विन २०७९, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडाैं । नेपालीहरूकाे महान् चाड बडादशैं आजदेखि सुरू भएकाे छ ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशैं सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन उत्सवसाथ दशैं मनाइन्छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदैछ । घटस्थापनाको शुभसाइत बिहान १० बजेर ३० मिनेटमा छ ।

आजदेखि नवरात्री सुरू हुन्छ । घटस्थापनाकाे दिन घर घरमा जमरा राखेर विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी देवी-देवताको आह्वान गरिन्छ । बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने गरिन्छ ।

माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले उहाँलाई खुशी पार्न जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ । माटोको शुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरी घडाको वरिपरि जौ छर्ने गरिन्छ । त्यसपछि शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआराधना गरिन्छ ।

आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ । दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here