काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय र प्रादेशिक निर्वाचनमा पौने दुई करोडभन्दा बढी मतदाता सहभागी हुँदै छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले भोट हाल्न पाउने भएका हुन् । आयोगले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ । जसमध्ये ८८ लाख ४७ हजार ५७९ पुरुष, ९१ लख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।
मतदाता संख्याका आधारमा आयोगले देशभर १० हजार ८९१ मतदान स्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्र पनि स्वीकृत गरेको छ । आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख ३५ हजार ५२५ र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ७७९ छन् ।
प्रदेशतर्फ बागमतीमा सबैभन्दा बढी ३४ लाख ७१ हजार ४९२ र सबैभन्दा कम कणर्ालीमा १० लाख ८ हजार ४०३ मतदाता छन् । सबैभन्दा बढी मतदान केन्द्र भएको जिल्ला मोरङ र कम भएको जिल्ला मनाङ हो । मोरङमा ८३९ र मनाङमा २८ मतदात केन्द्र तोकिएका छन् ।
सबैभन्दा बढी मतदान केन्द्र भएको प्रदेश मधेस र कम मतदान केन्द्र भएको प्रदेश कणर्ाली हो । मधेस प्रदेशमा ४ हजार २३५ र कणर्ाली प्रदेशमा १ हजार ४०३ मतदान केन्द्र स्वीकृत गरिएको आयोगले जनाएको छ ।





