निलम्बित प्रधानन्यायाधीश राणा सरकारी निवासमै ‘नजरबन्द’


२ आश्विन २०७९, आईतवार १३:२० मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार उहाँको सरकारी निवासमै ‘नजरबन्द’मा राखिएको छ।

आज सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट बाहिर निस्किन दिइएको छैन ।

राणा सर्वोच्च फर्कने तयारी गरेपछि उहाँलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकाल नै सकिएपछि राणा आइतबार सर्वोच्च अदालत जाने बताउनु भएको थियो ।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएको थियो।

महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ।

समितिको बहुमतले राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here