भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा


३१ भाद्र २०७९, शुक्रबार २०:०२ मा प्रकाशित

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

पाँच पटकको च्याम्पियन भारतलाई १-० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो। यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो।

नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन्। प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८-० गोलको जित निकालेको थियो।

नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here