बिर्तामोड बजार अनुगमनः झिँगा भन्किएका मासु तथा सढेगलेका माछा बिक्री


२८ भाद्र २०७९, मंगलवार १६:१२ मा प्रकाशित

बिर्तामोड । पटकपटक सरकारी अधिकारीहरू बजार अनुगमनमा निस्किन्छन् तर व्यापारीहरू ती अधिकारीहरूले दिएको निर्देशन टेर्दैनन् ।

केही समय अघि पनि जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वको टोलीले बिर्तामोड कृषि थोक बजारमा रहेको मासु पसलहरूको अनुगमन गरेको थियो ।

तर मंगलबार गरिएको अनुगमनमा पनि खासै फरक पाइएन ।

बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला अन्य सरकारी निकायका पदाधिकारीहरू मंगलबार बिहानै बिर्तामोड बजार अनुगमनमा निस्के ।

सबभन्दा पहिला होटल तथा मिठाइ पसलहरूमा अनुगमन गरे । केही मिठाइ पसलेलाई पसल सफा राख्न र खान योग्य मिठाइ मात्र बिक्रीका लागि राख्न सरकारी अधिकारीहरूले निर्देशन दिए ।

तर जब अनुगमनमा निस्केको टोली बिर्तामोडको कृषि थोक बजारमा रहेका मासु पसलहरूमा पुग्यो, पसलेहरू धमाधम मासुमा भन्किरहेका झिँगा धपाउन लागे । केहीले त्यहीँ छेउका कपडा पसलमा गएर बच्चाका झुल किनेर ल्याएर झिँगा भन्किरहेका मासु छोपे ।

कुनै पसलमा कागले मासुका टुक्रा खाइरहेका थिए । कतै सढेगलेका माछा बेच्न राखेको पाइएको थियो । खासगरि भारतबाट ल्याइएका माछा कुहिएको अवस्थामा भेटिएको हो ।

पसलेलाई भन्सारको कागजात देखाउन अनुरोध गर्दा कागजात देखाउन सकिरहेका थिएनन् । तर, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी व्यापारी जोगाउन प्रयासरत देखिन्थे ।

अधिकांशले सामान तौलिने उपकरण नविकरण गरेर राखे पनि मासु पसलको अवस्था भने राम्रो थिएन ।

सरसफाइमा ध्यान नदिएको पाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेका अनुसार अहिलेलाई पसलहरू राम्रो अवस्थामा राख्न निर्देशन दिइएको छ ।

केही समय अघि पनि बिर्तामोड कृषि थोक बजारको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेकै नेतृत्वको टोलीले तिनै मासु पसलहरूको अनुगमन गरेको थियो । त्यो बेला पनि कारबाही निर्देशन मै सीमित रहेको थियो ।

बजार अनुगमनको प्रमुख दायित्व स्थानीय सरकारको भएकाले मंगलबारको अनुगमनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला तथा प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने नेतृत्वको टोली पनि जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीसंगै अनुगमनमा निस्केको थियो ।

अहिले त कानुनले पनि अनुगमन तथा कारबाहीका लागि स्थानीय सरकारलाई अधिकार दिएको छ ।

त्यसैले बजारमा कहीँ कतै अनियमितता भए वा ठगिए उपप्रमुखको मोबाइल फोनमा सूचना दिन नगरपालिकाका उपप्रमुख संग्रौलाको आग्रह छ ।

उपभोक्ता स्वयं सजग हुनुपर्ने र भारतीय बजारहरूबाट ल्याइने मरेका माछा बेच्न नदिन नगरपालिका अब कडाइका साथ लाग्ने उपप्रमुख संग्रौलाले बताउनुभयो ।

तर, पटकपटकका निर्देशन नटेरि उपभोक्ताहरूको स्वास्थ्यमाथि व्यापारीहरूले खेलबाड गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here