काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परेर प्रभावित भएकाहरूलाई तत्काल राहत दिने र उद्धार गर्ने काम गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणी पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालालाई बाढीपहिरो प्रभावित क्षेत्रमा पठाउनु भएको छ । उहाँहरू नेपाली सेनाको हेलिकोप्टर लिएर घटनास्थल जानुभएको हो ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार शुक्रवार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ ।
अहिलेसम्म ५ जनाको शव भेटिएको ७ जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको डिआईजी आचार्यले जानकारी दिनुभयो ।





