काठमाडौँ । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो ।
खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् । जितसँगै समूह ’ए’ को भारतले ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल खेल असोज ३ गते हुनेछ ।





