छैटौं संस्करणको महिला साफमा नेपालको विजयी सुरुआत


२१ भाद्र २०७९, मंगलवार १९:३० मा प्रकाशित

काठमाडौँ ।   छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन् । यस जितसँगै समूह ’बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here