निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन आवश्यक व्यवस्था मिलाइसकिएको छः देउवा


१८ भाद्र २०७९, शनिबार १६:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताउनुभएको छ ।

प्रजातान्त्रिक चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएसंगै आगामी निर्वाचनलाई पनि निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन कांग्रेस नेतृत्वको सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताउनुभएको हो ।

कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसलाई अत्याधिक मतले जित दिलाउने गरि तयारी गर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । आवश्यक बजेट छुट्टाएर स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको निर्माण र स्वास्थ्य जनशक्तिको बिकासका लािग बिभिन्न कार्यक्रहरु आयोजना गरिएको उहाँले बताउनुभयो ।

कोरोना लगायतका महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको मुलुकको बिकासका लागि ठूलो योगदान हुने उहाँको विश्वास छ । उहाँले स्वास्थ्य सेवा महङ्गो हुँदा जनताले समयमा नै उपचार नपाइ कष्कटर जीवन बिताउनुपर्ने भएकाले स्वास्थ्य सेवालाई सस्तो र सुलभ बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोईरालाले मुलुकको बिकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट छुट्टाउनुपर्ने बताउनुभयो । नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी निर्वाचनमा समानुपातिक तर्फ चिकित्सकहरुलाई पनि स्थान दिनुपर्ने मागलाई पार्टीले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरुले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here