झापा । नारी सञ्चार गृह झापाले जिल्लाकै सबभन्दा बढी नगद राशिको पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
गृहले शनिवार झापाको बिर्तामोडमा आयोजित स्थापना दिवस कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरेको हो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले पुरस्कारको घोषणा गर्नुभयो ।
प्रत्येक दुई बर्षमा गृहको अधिवेशनका बेला प्रदान गर्ने उद्धेश्यले एक लाख १ हजार १ सय ११ रुपैयाँको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कारसंगै अर्को पत्रकारिता प्रोत्साहन पुरस्कार पनि स्थापना गरिएको शिवाकोटीले बताउनुभयो ।
२५ हजार ५ सय ५ रुपैयाँ नगद राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार पनि स्थापना गरिएको उहाँले बताउनुभयो ।
नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार झापाकै सबैभन्दा बढी नगद राशि भएको पत्रकारिता पुरस्कार बनेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाले प्रदान गर्ने मोती पत्रकारिता पुरस्कार अहिलेसम्म सबैभन्दा बढी नगद राशिको पुरस्कार रहेको थियो । केही बर्षदेखि उक्त पुरस्कार वितरण गर्ने काम बन्द भएको छ ।
नारी सञ्चार गृहले पुरस्कार स्थापना गर्ने काममा पत्रकार महासंघ झापा शाखालाई उछिनेको छ ।
पत्रकार महासंघ झापा शाखामार्फत प्रदान गरिने झापाका दिवंगत अग्रज पत्रकार एसएल शर्माको नाममा स्थापित पत्रकारिता पुरस्कार पनि केही बर्षदेखि बन्द छ ।