बिर्तामोडका अस्पतालका फोहोरका पोका बिरिङ खोलामा, अपराध गर्नेमाथि कारबाही हुन्छः सिडिओ


७ भाद्र २०७९, मंगलवार २०:२४ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा रहेका अधिकांश अस्पतालहरुका फोहोरका पोका बिरिङ खोला किनारमा तैरिएका छन् ।

काला प्लाष्टिकका पोका अहिले बिरिङ खोला किनारमा तैरिएको अवस्थामा रहेका छन् । सोमबार कनकाई नगरपालिका ८ का स्थानीयबासीले देखेपछि सामाजिक सञ्जालहरुमा फोहोरका पोकाका भिडियो तथा तस्वीर उनीहरुले सार्वजनिक गरेका थिए ।

सूर्योदय टेलिभिजनको टोली मंगलबार त्यहाँ पुग्दा एकजना सरसफाइ अभियन्ता गणेश ढुंगाना खोलामा तैरिरहेका प्लाष्टिकका पोका खोलाबाट बाहिर निकाल्दै हुनुहुन्थ्यो ।

कस्ले र कहाँबाट त्यस्तो अमानवीय काम गर्याे भन्ने कुराको कसैलाई पनि यकिन छैन । तर पोकामा बिर्तामोडका मनमोहन, कन्काई, बिर्तामोड आँखा अस्पताल लगायत अस्पतालहरुका कागजात भेटिएका छन् ।

फोहोरका झोलामा प्रयोग भएका सिरिन्ज, ग्लोब्ज तथा अस्पतालमा प्रयोग हुने विभिन्न उपचारका बस्तु भेटिएका छन् । फोहोर खोला किनारमा तैरिएको देखेपछि कन्काई नगरपालिका ८ का स्थानीयबासी तथा कनकाई नगरपालिकाको मेयर पदमा चुनावी मैदानमा उत्रिनुभएका शेरबहादुर थापा खोलामै पुग्नु भएको थियो ।

यस्तो अमानवीय काम गर्ने जोकोहीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । खोला किनारका बासिन्दा पानीको स्रोत बिरिङ खोला पनि भएको अस्पतालहरुका फोहोर सहितको पानी पशुलाई खुवाउन बाध्य हुनुपरेको स्थानीयबासीले बताएका छन् ।

पर्यावरणीय दृष्टिले पनि अस्पतालको फोहोर सोझै खोलामा फाल्नु अपराधको रुपमा लिइन्छ । मनमोहन अस्पतालका अनुसार बिर्तामोडका सन्तोष मल्लिकले अस्पतालको फोहोर व्यवस्थापनको जिम्मा लिएका हुन् ।

बिर्तामोडका अधिकांश अस्पतालका फोहोर मल्लिकको कम्पनीले व्यवस्थापन गर्दै आएको अस्पतालहरुले जनाएका छन् । मल्लिकसंग पटकपटक सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अस्पतालको फोहोर खोलामा फाल्नु अपराध भएको बताउनुभयो ।

सूर्योदय टेलिभिजनसंग कुरा गर्दै उहाँले अस्पतालको फोहोर खोलामा फालेर अपराध गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here