बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध, कारबाहीका लागि प्रशासनलाई पत्राचार


६ भाद्र २०७९, सोमबार ०८:१२ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनमा पुनः अवरोध भएपछि नगरपालिकाले अवरोध गर्नेलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

एक महिनापछि उठाउन थालिएको बिर्तामोडको फोहोर व्यवस्थापनमा फेरि अवरोध भएको हो ।

अवरोधका कारण शुक्रवारदेखि शुरु भएको व्यवस्थापन कार्य आइतवारदेखि रोकिएको छ । फोहोर बोकेर गएका ट्रयाक्टर फर्किएका फोहोर बोकेरै फर्किएका छन् ।

बिर्तामोड ८ मा फोहोर व्यवस्थापन गर्ने सहमतिपछि शुक्रवारदेखि फोहोर उठाउन थालिएको थियो ।

शुक्रवारदेखि १८ ट्याक्टर फोहोर व्यवस्थापन गरिसकेको नगरपालिकाले फेरि अवरोधको सामना गर्नुपरेको छ ।

फोहोर व्यवस्थापनका लागि सहमति अनुसार बिर्तामोड ८ बस्ने महेश सापकोटा र बिर्तामोड १ बस्ने सुरेन्द्र नेपालको नाममा दर्ता रहेको बिर्तामोड ८ को जग्गामा व्यवस्थापन गर्ने सहमति भएको थियो ।

सम्बन्धित जग्गाधनीको जग्गा नदि कटानबाट क्षति हुन नदिन तटबन्धन गर्ने, शिखर मार्गदेखि हर्चना खोलासम्म प्लम निर्माण गरिदिने, शिखर मार्गको बाटोमा सकडबत्ती व्यवस्था गरिदिने साथै हर्चना बरगाछीसम्म सडकबत्ती जडान गरिदिने, उक्त बत्तीको महशुल फोहोर मैला व्यवस्थापन गर्ने समयसम्म नगरपालिकाले तिरिदिने र त्यसपछि टोल विकासले तिर्ने, उक्त स्थानमा नगरले ३ महिना फोहोर मैला व्यवस्थापन गर्न पाउने सहमति गरिएको थियो ।

नगरपालिकाका प्रवक्ता तथा वार्ड नं १ का वडाध्यक्ष अग्नि पाण्डेका अनुसार फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरु आसपासका भन्दा बाहिरका मानिस रहेका छन् ।

फोहोर लिएर गएका ट्याक्टरहरुको चावी खोस्ने तथा बाटो छेक्ने जस्ता कार्यहरु भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरुको पहिचान गरेर कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापालाई पत्राचार गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here