काठमाडौँ । प्रतिनिधि तथा राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकका केही बुँदाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर चासो व्यक्त गरेकाले उक्त विधेयक संसदमै फिर्ता हुने संभावना बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्यक्त गर्नुभएको बताइएको छ ।
राष्ट्रपति भण्डारीले झन्डै दुई घण्टाको छलफलमा नागरिकता विधेयक प्रमाणीकरणपछि पर्न सक्ने दूरगामी प्रभावबारे चिन्ता व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले विधेयक समेटिएका बुँदाहरूमा गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको थियो ।





