झापा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई अझ जवान अनुभूति भएकाले फरि पनि इलामको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने बताउनुभएको छ ।
गत साल गम्भीर बिरामी परेर निको भएपछि अझ १५ बर्ष आफ्नो आयु बढेको बताउँदै इलामे जनताको सेवा अझै गर्ने नेता खनालले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र इलामको क्षेत्र नं १ जाने क्रममा शनिवार झापाको बिर्तामोडमा पत्रकारहरूसंग कुरा गर्दै नेता खनालले आफू अझ सक्रिय भएर राजनीति गर्ने बताउनुभयो।
आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सत्ता गठबन्धनले गर्ने तालमेल स्थानीय तहको जस्तो भए त्यो अस्वीकार्य हुने उहाँले बताउनुभयो ।
चुनाव लड्नका लागि तालमेल र सिट बाँडफाँट भदौको पहिलो वा दोस्रो सातामै सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । सत्ता गठबन्धनमा चुनावका लागि सिट बाँडफाँट पेचिलो बनिरहेका बेला एकीकृत समाजवादीका तर्फबाट यो पछिल्लो भनाइ आएको हो ।
अब जनता धेरै सचेत भएकाले यस पटकको चुनावमा राजनीतिक दलहरूलाई जोखिम बढेको उहाँले बताउनुभयो । जनताले राजनीतिक दलका एजेन्डा र उम्मेदवार सबै अध्ययन गरेर मतदान गर्नुपर्ने नेता खनालको भनाइ थियो ।
राजनीति बिचार र सिद्धान्तले चल्ने भएकाले सोही अनुरूप राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न मतदातालाई उहाँले आग्रह गर्नुभएको छ ।





