झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।
प्रदेश सरकारको निर्णय बमोजिम बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निर्देशन दिनु भएको हो ।उहाँले डेंगु नियन्त्रणका लागि झापाका सबै स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नोतर्फबाट अभियान चलाउन आवश्यक रहेको बताउनु भयो ।
१५ वटै पालिकाका स्वास्थ्य शाखा संयोजक, जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन, जिल्लाका सुरक्षा निकायका अधिकारी सहभागी थिए ।अहिलेसम्म भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक नगरपालिकामा आठ जना डेंगु संक्रमित भेटिएका छन् ।उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनु भयो ।
झापामा पहिलो पटक सन् २०१२ मा काँकडभिट्टामा डेंगुको संक्रमित फेला परेको थियो । डेंगुको संक्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको जनाइएको छ ।





