म्यानमारमा सैन्य कुपछि लगाइएको सङ्कटकाल फेरि ६ महिना थपिएको छ । म्यानमारको नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले गएको वर्ष लगाइएको सङ्कटकाल ६ महिना लम्ब्याउने निर्णय गरेको अन्तराष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।
काउन्सिलले त्यहाँ आम चुनाव गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि सङ्कटकालीन अवस्था ६ थप गरिएको जनाएको छ ।
म्यानमारको संविधानअनुसार त्यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्छ ।
म्यानमारका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गएको वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेकामा गएको जनवरी ३१ मा नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको सैनिकले आम चुनाव गर्ने तयारी थालेको छ ।
सैन्य कु लागू भइसकेपछि त्यसको विरोधमा म्यान्मारमा हजारौँको सङख्यामा मानिसले प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा सेनाको गोली लागेर दुई हजार एक सयभन्दा बढीले ज्यान गुमाएका बीबीसीले लेखेको छ ।
सेनाले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई जेलमा राखेको छ भने गएको हप्ता चार जना प्रजातन्त्रवादी नेताहरूलाई मृत्युदण्ड दिएको थियो ।





