एमालेद्धारा महंगी, भ्रष्टाचार र सरकारको काम बिरुद्ध प्रदर्शन


१६ श्रावण २०७९, सोमबार १६:४० मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महंगी, भ्रष्टाचार र सरकारको कामको बिरोधमा प्रदर्शन गरेको छ ।

जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउनका लागि खबरदारी गर्न भन्दै एमालेले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । काठमाडौंको बसन्तपुर देखि सुरु भएको बिरोध प्रदर्शन सहितको र्याली शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र जनवर्गीय संगठनहरु लगाएतको सहभागीता रहेको थियो ।

आम नागरिक महंगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खवरदारी गर्न प्रदर्शन गरिएको र यो शुभारम्भ मात्र भएको एमालेका नेताहरुले जनाएका छन् । वर्तमान गठबन्धन सरकारका कारण भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको र अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको आरोप उनीहरुले लगाएका छन् । एमाले नेता लालबाबु पण्डितले महंगी, भ्रष्टाचार र सरकारका गलत कामको बिरोध संसदका साथै सडकबाट पनि संयुक्त रुपमा गरिने जिकिर गर्नुभयो ।

त्यस्तै एमाले नेता शेर बहादुर तामाङले सरकारलाई संसदबाटै सच्चाउन कोसिस गरेपनि सरकारले नसुनेका कारण सडकबाट पनि ध्यानाकर्षण गराउन खोजिएको बताउनुभयो ।

एमालेले असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट पारित गरेको आरोप पनि लगाएको छ । काठमाडौंबाट सुरु भएको सडक प्रदर्शनलाई देशव्यापी बनाउने एमाले नेताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here