चम्पापुरमा सहाराको पशु स्वास्थ्य शिविर


२८ जेष्ठ २०७६, मंगलवार १६:०४ मा प्रकाशित

झापा ।    कनकाई ६ चम्पापुरका पशु किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै सहारा नेपाल साकोसले सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट उनीहरुले लाभ पाएका छन् ।

स्थानीय तहको साझेदारीमा सहाराले मंगलबार कनकाई ६ को चम्पापुर बजारमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कनकाई नगरपालिकासँगको साझेदारीमा सञ्चालित शिविरबाट सो क्षेत्रका २८१ घरधुरी किसानले प्रत्यक्ष सेवा पाएका थिए ।
शिविरमा पाँच हजार पाँच सय ७७ पशुपंक्षी लाभान्वित भएको सहाराका पशु चिकित्सक डा. कमलेश्वर भाटले जानकारी दिए । स्थानीयबासीले शिविरमै आफ्ना घरपालुवा जनावर लिएर आएका थिए  धेरैजसो किसानले घरपालुवाका लागि औषधि लिएर गएका थिए । दुईजना पशु चिकित्सकसहित आधा दर्जन पशु प्राविधिकले पशु तथा पंक्षीको स्वास्थ्य परीक्षण गरेका थिए ।

करिब एक लाख ६० हजार रुपैयाँको निःशुल्क औषधि समेत वितरण गरिएको शिविरमा डा. भाटसहित हिफर इन्टरनेसनलका डा. छत्र क्षेत्री, प्राविधिक प्रविन कोइराला, सिर्जना आचार्य, कुसुम उप्रेतीले सेवा पुर्याएका थिए । नगरपालिकाको तर्फबाट पशु विकास अधिकृत तेजबहादुर पौडेल, प्राविधिक शिबु शाह, फूलमाया राई, सुरज हलुवाई र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता दिनेश कार्कीले शिविरमा पशु स्वास्थ्य उपचार र परीक्षणमा सेवा दिएका थिए ।

शिविरमा गाई, भैँसी, संगुर,बाख्रा, कुकुर, कुखुराको स्वास्थ्य उपचार गरिएको डा. भाटले जानकारी दिए । प्रयोगशाला सेवासहितको शिविरमा पशुको बन्ध्याकरण, गर्भ परीक्षण, बाँझोपन निवारण, परजीवी नियन्त्रण, पिडिपी जाँच, गोबर परीक्षण, साल झार्ने काम गरिएको थियो ।

त्यस्तै, भिटामिनको सुइँ लगाउने तथा कृत्रिम गर्भधारण गरिएको पशु स्वास्थ्य शिविरमा स्थानीयबासीलाई पशु पालनसम्बन्धी परामर्श तथा पशु बीमासम्बन्धी जानकारी दिइएको डा. भाटले बताए ।
शिविरको एक कार्यक्रमका बीच कनकाई ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलीले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here