तत्काल समाजवादी केन्द्र बन्ने सम्भावना नरहेको स्पष्ट : प्रचण्ड


१३ श्रावण २०७९, शुक्रबार १८:४५ मा प्रकाशित

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र बनिहाल्ने चर्चा चलेको भन्दै तत्काल समाजवादी केन्द्र बनाउनका लागि छलफल नै नभएको बताउनुभएको हो । प्रचण्डले गठबन्धनभित्र रहेका बिचार मिल्ने दलहरुबीच चूनावी मोर्चा बनाउन सकिन्छ कि भन्ने छलफल मात्र भएको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिले पनि गठबन्धनको आवश्यकता रहेको भन्दै प्रदेश र संघको निर्वाचनमात्रै नभई आवश्यकता अनुसार शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म र नयाँ परिस्थीति नवनेसम्म गठबन्धन कायमै रहने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा गठबन्धनबीच भएको चूनावी तालमेलको अनुभव मिठो नरहेको र प्रदेश र संघको निर्वाचनमा यसअघिको शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्ने बिषयमा गठबन्धनबीच छलफल भइरहेको धारणा राख्नुभयो ।

प्रचण्डले यसअघि राष्ट्रवादी भन्ने दलहरुले नै एसपीपी जस्ता राष्ट्रघाति कामहरु भएको भन्दै एसपीपी खारेज गर्नुपर्छ भने आफुले नै सुरुमा आवाज उठाएको बताउनुभयो । उहाँले वर्तमान सरकारले राम्रो काम गरेकै कारण अर्थमन्त्रीलाई बदनाम गर्न खोजिएको समेत बताउनुभयो ।

उहाँले निर्वाचन नजिकिदै गएको अवस्थामा सरकार र माओवादीले गरेका राम्रा कामको प्रचार गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here