छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदिप ज्ञवाली


१३ श्रावण २०७९, शुक्रबार १८:२० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको बताउनुभएको छ ।

छानविन समितिका सदस्य समेत रहनुभएका ज्ञवालीले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन नसकेको बताउनुभएको हो ।

उहाँले समितिमा रहेका सत्तापक्षका सांसदहरुका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाउनुभयो । अनधिकृत भनिएका व्यक्तिहरुको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरुको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उहाँको भनाइ छ ।

अनुसन्धान पुर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफू मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्ने बिषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताउनुभयो । उहाँले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धती मुख्य बिषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गर्नुभयो ।

उहाँले समितिले बनाएको कार्यबिधि अनुसार पनि काम हुन नसकेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here