काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक गर्दै नेता कोईरालाले नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य रहेको र दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल हुनुपर्ने बताउनुभएको हो ।
उहाँले नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने समेत बताउनुभयो । कोईरालाले राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रलाई बलियो बनाउन सकेमात्र मुलुक बलियो हुने उहाँको भनाइ छ ।
बुक्स राइटिङ नेपालले प्रकाशन गरेको सो पुस्तक २१२ पृष्ठको छ । पुस्तकमा राजनीतिक, सहकारी, अग्र्यानिक कृषि र वैदिक नेपाल निर्माणका लागि बास्कोटाले गर्नुभएका कामको चर्चा गरिएको छ ।





