काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आगामी १० दिनभित्रै मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गर्ने जनाएको छ ।
बिहीबार ललितपुरमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश हमालले उक्त निर्देशिका मार्फत मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था हटाइने जानकारी दिनुभयो । बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमईज प्लेटफर्म संचालनमा ल्याउने भएको पनि जनाएको छ ।
त्यस्तै व्यवसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्राउन नयाँ स्टक डिलर कम्पनी संचालन ल्याउने हमालले बताउनुभयो । अध्यक्ष हमालले पूँजी बजारबाट लगानीकर्तालाई हुनसक्ने क्षतिलाई कम गर्न क्षतिपूर्ति कोष चाँडै सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
त्यस्तै १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाइने उहाँले बताउनुभयो ।
बोर्डले संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने र नियमन निकायको वाच डग एजेन्सी भूमिकालाई शसक्त पार्ने जनाएको छ ।





