पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनको अध्ययन थालेको छ ।
समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।
मंगलबार बिहान बसेको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए ।त्यसपछि विज्ञसहितको टोलीसँग बैठक बस्ने गरी स्थगित गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जनाकारी दिनु भयो ।
‘केही विषय प्राविधिक रहेका छन्।् फरेन्सिक ल्यावसँग सम्बन्धित विज्ञहरु चाहिने भएकाले अहिले बैठक स्थगित भएको छ‘ सचिव अर्यालका अनुसार विज्ञहरुसँग बसेर प्रतिवेदन सम्बन्धमा छलफल गरीने बताउनु भयो ।
आर्थिक वर्ष २०७९ ÷८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।
यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नु भएको थियो । समिति गठन भए लगत्तै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो ।





