माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट


२ श्रावण २०७९, सोमबार १२:१९ मा प्रकाशित

भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेताहरूसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आज सोमबार बिहान भेटवार्ता गर्नु भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी हुनुन्थ्यो । सो भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले संघीय संसदमा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिनु भयो ।

‘सरकारले संघीय संसदमा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका अन्य विधेयकबारे कुराकानी भयो,’ गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले भनेको छ, ‘ती विधेयकहरूबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’

त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको र सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here