काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको लेखा समितिको सभापति आफूले पाउनुपर्ने माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा लेखा समितिका सभापति भरत शाहले बार्षिक प्रतिवेदन गर्न लाग्दा एमाले सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गर्नुभयो । अहिलेसम्मको अभ्यास, परम्परा र मूल्य र मान्यताको हिसाबले पनि लेखा समितिको नेतृत्व विपक्षी दलले गर्दै आएको अभ्यास रहेको भन्दै उहाँले गठबन्धन सरकार बनेको १ वर्ष बित्दा पनि लेखा समितिको नेतृत्वमा सरकारको छाया देखिएको तर्क गर्नुभयो ।
बैठकमा समिति सभापति शाहले सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो । त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम हेरफेर गर्दै पुष्पा भुसालको ठाँउमा मीन विश्वकर्मालाई राखेको छ ।





