काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउन खोज्दा रोक्ने षडयन्त्र भएको बताउनुभएको छ ।
विकल्प फाउण्डेशनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परितर्वन मन नपराउनेहरुले अहिले पनि संविधानमा उल्लेख अधिकार तल्लो तहमा लैजान कानून निर्माण गर्दा अवरोध सिर्जना गर्न खोजेको बताउनुभएको हो ।
अहिले पनि केहि नेताहरु संघीयता नै खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ती दिइरहेको र देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजाने प्रबृति देखापरेको उहाले बताउनुभयो । उहाँले आफुहरु जनताको हक अधिकारलाई थप बलियो गर्दै अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको धारणा राख्नुभयो । उहाँले मुलुकलाई अघि बढाउन अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताउनुभयोे । उहाँले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।





