अर्थतन्त्रलाई नियोजित ढंगले नै बिगार्न खाजियो : सांसद शर्मा


२९ असार २०७९, बुधबार १३:४१ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद रेखा शर्माले मुलुकको गभर्नर कुनै पार्टीको बिभागको सदस्य हुनु नपाउने व्यवस्था रहेको भन्दै उक्त बिषयमा छानविन हुनुपर्ने बताउनुभएको हो । यसै सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको उहाँले टिप्पणी गर्नुभयो । सांसद शर्माले छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई नियोजित ढंगले नै बिगार्न खाजिएको बताउनुभयो ।

यस्तै बिशेष समयमा कांग्रेसका सांसद मीन विश्वकर्माले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त जनाउनुभयो । रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको र यो बन्द हुनुपर्ने उहाँको भनाई छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता पुष्टि गरि सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

त्यस्तै बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले ल्याउन खोजेको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here