प्रतिनिधि सभामा उपसभामुख चयनका लागि शुक्रवार चुनाव हुदै


२९ असार २०७९, बुधबार १२:४४ मा प्रकाशित

काठमाण्डौ । प्रतिनिधि सभामा उपसभामुखको चुनाव पर्सि ३१ गते शुक्रवार हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोक्नु भएको हो ।

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । नेकपा एमालेबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ ।

सरकारले उपसभामुखको चुनाव गर्नुको साटो संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएको थियो । सांसदहरूले पटक–पटक उपसभामुखको चुनावी प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गर्नुभएको थिएन ।

असार ३० गते बिहीवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधि सभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्तावको सूचना दर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यही दिन साढे १ बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र र ३१ गते शुक्रवार दिउँसो ३ बजे बैठकमा उपसभामुखमा निर्वाचित गरियोस भनी प्रस्ताव पेस गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here