काठमाडौँ । सरकारले नागरिकतासम्बन्धी नयाँ बिधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।
बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेश गर्नुभएको हो । त्यसअघि बैठकमा उक्त बिधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि एमालेका सांसद भीम बहादुर रावल, शेर बहादुर तामाङ र नेमकिपाका सांसद प्रेम सुवालले बिरोधका सूचना प्रस्तुत गर्नुभएको थियो ।
सो क्रममा रावलले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउनुभयो । यसअघिको बिधेयकमाथि लामो समय छलफल भइसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु उचित नभएको उहाँले बताउनुभयो । त्यस्तै एमालेकै अर्का सांसद तामाङले नयाँ विधेयक बिधेयकमा भएको कतिपय बिषयहरुप्रति आपती जनाउनुभयो ।
त्यस्तै नेमकिपाका सांसद सुवालले राष्ट्रिय हित बिपरित नागरिकता बिधेयकलाई अघि बढाउन नहुने बताउनुभएको थियो । बैठकले तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत गरेको थियो । बैठकमा बिधेयकमाथि जानकारी दिदै गृहमन्त्री खाँणले संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको दावी गर्नुभयो । यसअघिको बिधेयकमाथि सहमति जुटेका बिषयलाई समावेश गर्दै नागरिकताबिहीनहरुको समस्या समाधान गर्न बिधेयक ल्याइएको उहाँको भनाई छ ।
उहाँले यसअघिको बिधेयकलाई नै सहमति गर्ने प्रयास भएपनि त्यसो हुन नसकेकाले फिर्ता गर्नुपरेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा बैठकमा पेश भएसंगै थप प्रक्रियाका लागि नयाँ नागरिकता बिधेयक अघि बढेको छ ।





