आफूहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रित रहेको बाबुराम भट्टराईको दाबी


२८ असार २०७९, मंगलवार १६:५३ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रित रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई देशव्यापी बनाउनका लागि रुपान्तरण र पुनर्गठनमा बहस गर्न खोजेको बताउनुभएको हो । भट्टराईले पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले एकपक्षीय निर्णय गर्दै हिँडेको र पार्टीभित्र कुनै छलफल नै नगरि बीरगंजमा बैठक बोलाएको आरोप लगाउनुभयो ।

उहाँले वैधानिक ढंगबाट बैठक राख्न र सरसल्लाह गरेर विधिसम्मत बैठक राख्न यादवलाई सुझाव दिनुभयो । भट्टराईले आफ्नो मनसाय पार्टीको बिभाजन नभएको बरु संगठनलाई बलियो बनाएर अघि बढाउनु मात्रै रहेको तर्क गर्नुभयो । बैकल्पिक शक्ति र समावेशी पार्टी बनाउने परिकल्पनामाथि गम्भीर आघात पुगेको र पार्टीमा नै कालो बादल देखा परेकाले त्यसैलाई निवारण गर्नका लागि बैठक बोलाइएको उहाँको भनाइ छ ।

त्यस्तै जसपा नेता महेन्द्र राय यादवले पार्टीको बिधि र बिधान नमानेर एकलौटी गर्दा आफूहरुलाई चित्त दुखेको बताउनुभयो । उहाँले पार्टीभित्र आफ्नो कुरा राख्न नपाएपछि विस्तारित बैठक बोलाउनुपरेको भन्दै आफूहरुले पार्टी बिभाजन नगर्ने स्पष्ट पार्नुभयो ।

बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन समेत पेश गर्नुभएको छ । पार्टीभित्र विवाद बढिरहेका बेला उपेन्द्र यादव पक्षले मंगलबार र बुधबार वीरगंजमा केन्द्रीय कार्यकारिणी समिति बोलाउनुभएको थियो भने भट्टराई पक्षले पनि काठमाडौंमा केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here