गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्क मुल्याङ्कनका आधारमा पहिलो


२५ असार २०७९, शनिबार १९:१० मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा पहिलो भएको छ ।
स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको आर्थिक वर्ष २०७८/०७९को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनि स्वास्थ्य चौकी पहिलो भएको हो । मुल्याङ्कनमा वडा नम्बर १०को सैनिकबजार आधारभुत स्वास्थ्य चौकी दोश्रो र वडा नम्बर ३मा रहेको अनारमनी नगरअस्पताल तेश्रो भएका छन् । विजेता स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रमाणपत्र प्रदान गर्नु भयो ।

सोही कार्यक्रमका विच महिला,बालबालिकाको स्वास्थ्य अवस्थालाई प्रबद्र्वन गर्न, स्वास्थ्य सेवालाई समुदाय स्तरसम्म स्थापित गर्न र सामाजिक सेवाका विभिन्न क्रियाकलापहरुमा स्वयमसेवकको रुपमा महत्वपुर्ण योगदान पुर्याउने वडा नम्बर २की शान्ता लिम्बु, वडा नम्बर ४की रेणुका उप्रेती र वडा नम्बर ९की विष्णुमाया श्रेष्ठलाई सम्मान गरीएको छ । उनीहरुलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरीएको हो । यस्तै सम्मानित हुनेहरुमा आमा समुह पनि रहेका छन् । वडा नम्बर १को जागृती आमा समुह, वडा नम्बर ५को इन्द्रेणी आमा समुह र वडा नम्बर ७को बिरान आमा समुह रहेका छन् । उनीहरुले सम्मानपत्र सहित ५ हजार रुपैयाँ मुल्य बराबरको जिन्सी सामाग्री प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वास्थ्य पहिलो प्राथमिकतामा रहेकोले जनताले पाउने सुविधाबाट बन्चित गर्न नहुने बताउनु भयो । उहाँले प्रक्रियागतरुपमा केहि समस्या भए हल गर्दै जनतालाई सरकारी स्तरबाट गर्न सकिने सेवा सुविधालाई सरल र सहज बनाउँदै लैजान निर्देशन समेत दिनु भयो । कार्यक्रममा वडा नम्बर १का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा,स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे लगायतले बोल्नु भएको थियो ।

वार्षिक समिक्षा कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी,वडा नम्बर ४का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर १०का वडाध्यक्ष दुर्योधन गुरुङ्ग,स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुणामणि लुईटेलको पनि सहभागिता रहेको थियो ।  स्वास्थ्य शाखा प्रमुख राजिव विष्टको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सिअहेब अधिकृत दिपक सापकोटाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here