झापा । दैनिक उपभोग्य सामाग्रीको मूल्य आकाशिँदै जाँदा संघीय सरकारको नीति अनुरुप जिल्ला प्रशासन कार्यालय झापाले पनि बजार अनुगमन थालेको छ।
शुक्रबार झापा बिर्तामोडको कृषि थोक बजारबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने नेतृत्वको टोलीले बजार अनुगमनको काम शुरु गरेको हो।
बजार व्यवस्थित गर्ने जिम्मा स्थानीय तहको भए पनि केन्द्रीय सरकारको निर्देशनमा जिल्ला प्रशासन नै बजार अनुगमनमा निस्केको हो ।
अहिले आँपको सिजन चलिरहेको अवस्थामा अनुगमन टोलीले आँपको गुणस्तर तथा बिक्रीका विषयमा व्यापारीसंग सोधपुछ गरेको थियो।
तर यस्तो अनुगमनले निरन्तरता पाए सफा खानेकुरा उपभोक्ताले खान पाउने विश्व उपभोक्ता महासंघ झापाकी अध्यक्ष सरस्वती चम्लागाईंले बताउनु भयो।
उहाँले भन्नुभयो , ‘अनुगमनलाई तीब्र नबनाए सफा खानेकुरा खान पाइन्न। स्थानीय सरकारले पनि ध्यान दिनुपर्छ बजार अनुगमन गर्ने कुरामा।’
जिल्ला प्रशासन कार्यालय झापाका साथै आन्तरिक राजश्व कार्यालय भद्रपुर, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, स्वास्थ्य कार्यालय, विभिन्न उपभोक्ताबादी संघसंस्था तथा बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि अनुगमन टोलीमा रहेका थिए। कृषि थोक बजार भित्रका फलफूल तथा माछामासु बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनु भयो।
उहाँले भन्नुभयो, ‘अर्को पटक आउँदा सुधार भएको पाइएन भने जरिमानासहित जेल सजाय पनि हुन्छ।’
बिर्तामोडको कृषि थोक बजारमा देशका विभिन्न स्थान लगायत विदेशबाट पनि आयात गरिएका फलफूल तथा तरकारीको व्यापार हुने स्थान हो। तर यही स्थान लामो समयदेखि अव्यवस्थित हुँदै आएको छ।
तरकारी तथा फलफूलको मुख्य व्यापार हुने स्थान झापा बिर्तामोडको कृषि थोक बजार सडेगलेका फलफूल तथा तरकारीले दुर्गन्धित बन्दै गएको अनुगमन टोलीले पाएको छ।
व्यापारीले जथाभावी फोहोर फालिदिने र फालेको स्थानमा झिँगा भन्केर खान मिल्ने तरकारी तथा फलफूलमा ती झिँगा बस्ने भएकाले सरुवा रोग फैलने संभावना उत्तिकै बढेर गएको छ।
कृषि थोक बजारमा उपभोक्ताले नाक थुनेर हिँड्नु पर्ने अवस्था छ। आफ्ना पसल अगाडि फोहोर थुपारिदिने अनि आफ्नै अघिल्तिर थुपारेको फोहोरले सर्वसाधारणलाई कति असर गर्छ भन्ने कुरालाई त्यहाँका व्यापारीले ख्याल नगरेको पाइएको हो।
व्यापारीहरूका अनुसार पहिला भन्दा बजारको सरसफाइमा अहिले धेरै सुधार भएको छ। अहिलेको अवस्थाले मात्र बजार सफा नहुने भन्दै प्रशासन कार्यालयसम्मिलित अनुगमन टोलीले व्यापारीहरूलाई चेतावनी दिएको छ।





