भारतमा १७ औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) ले ३०२ सिटसहित विजयी भएपछि नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नु भएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाउनु भएको हो ।नरेन्द्र मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो ।
नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भएका छन् ।मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ रहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी तथा यूपीए अध्यक्ष सोनिया गान्धी पनि उपस्थित थिए ।त्यस्तै खेलाडी तथा बलिउडका कलाकारहरु पनि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।
मोदीको दोस्रो कार्यकालमा मन्त्रिमण्डलमा भने केही फेरबदल भएको छ ।यस पटक बीजेपी अध्यक्ष अमित शाहलगायत केही नयाँ अनुहार मन्त्रिमण्डलमा समेटिएका छन् ।भारतका पूर्व विदेश सचिव एस जयशंकर समेत मोदी सरकारमा समेटिएका छन् । त्यस्तै ३५२ सिट जितेको एनडीए गठबन्धनको प्रमुख घटक दल जनता दल युनाइटेड भने अहिलेलाई सरकारमा नजाने भएको छ ।





