लेबनानको जनस्वास्थ्य मन्त्रालयकाअनुसार बुधवार दक्षिण लेबनानमा इजरायली हवाई हमलामा आठ पत्रकारसहित १९ जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार इजरायली सेनाले दिउँसो निष्कासनको चेतावनी जारी गरेपछि केनारित लगायतका धेरै शहर र गाउँहरूमा आक्रमण गरिएको थियो ।
जहाँ सात भन्दा बढी भवनहरूमा भीषण बमबारी भएको थियो । स्थानीय सञ्चारमाध्यमकाअनुसार आक्रमणको स्थलगत रिपोर्टिङ गर्ने क्रममा आठ जना पत्रकार घाइते भएका छन् । इजरायली सेनाले हालसम्म यी रिपोर्टहरूका बारेमा कुनै आधिकारिक टिप्पणी गरेको छैन । स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै घाइतेमध्ये दुई जनालाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको, तीन जनालाई अस्पतालमा राखिएको र १४ जनाको आकस्मिक कक्षमा उपचार गरिएको जनाएको छ ।
जरजुआ र कफुर शहरहरूमा भएका थप हवाई आक्रमणहरूले भवनहरू ध्वस्त पारेका छन् भने खरायब र अन्सार गाउँहरूमा पनि थप आक्रमणहरू भएको रिपोर्ट गरिएको छ । लेबनानी राष्ट्रपति जोसेफ आउनले इजरायललाई मानव बस्ती भएका गाउँहरू विरुद्ध व्यवस्थित आक्रामक नीति अपनाएको आरोप लगाउनु भयो ।
उहाँले यी आक्रमणहरूलाई युद्धविराम र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै निन्दा गर्नुभयो र अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न आह्वान गर्नुभयो । संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा हिजबुल्लाह र इजरायलबीचको युद्धविराम सम्झौता नोभेम्बर २७, २०२४ देखि लागू भएको थियो।
सम्झौताका बाबजुद इजरायली सेनाले हिजबुल्लाहबाट सुरक्षा खतरा रहेको भन्दै लेबनानमा छिटपुट आक्रमणहरू जारी राखेको छ र लेबनानी सीमाका पाँच मुख्य विन्दुहरूमा आफ्नो सैन्य उपस्थिति कायम राखेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






