कनकाई । धानवालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ झाापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ ।
कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवसको कार्यक्रम सम्पन्न भएको हो । कनकाई ५ स्थित जैविक आई.पि.एम.कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एवम् उपप्रमुख आशा शिवाकोटीले हिलोमा छुपु—छुपु धान रोपेर धान दिवसको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले कनकाईमा कृषकको उत्पादन र बजारीकरणलाई विशेष जोड दिँदै अघि बढ्ने योजना रहेको बताउँनुभएको छ ।
आ.व.२०७९-८० मा कनकाई नगरपालिकाको तर्फबाट कृषिलाई नै प्राथमिक्तामा राखेर बजेट विनियोजन गरेको बताउँदै नगर प्रमुख पोखरेलले नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउँने अभियान चलाएको बताउँनुभयो ।
पछिल्लो समय कारितास नेपालसँगको सहकार्यमा कनकाई नगरपालिकाले कृषकहरुलाई जैविक खेती तर्फ अघि बढ्न प्रेरित गरेको बताइएको छ । कार्यक्रममा कृषकहरुलाई आवश्यक कृषि सामाग्री समेत वितरण गरिएको बताइएको छ ।
आयोजक समितिकी अध्यक्ष गायत्रा सुवेदीको सभापतित्व रहेको कार्यक्रममा कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
कनकाईका कृषि शाखा प्रमुख यदु उप्रेतीले धान दिवसको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई ५ का वडाअध्यक्ष कृष्णवहादुर राई, कनकाईका प्रशासन शाखा प्रमुख विवेक भण्डारी लगायतले परम्परागत कृषि प्रणालीमा परिवर्तनको आवश्यक रहेको बताउँनुभएको छ ।





