हलेसी मन्दिरको भेटीघाटी प्रत्येक ३ दिनमा गणना गरिने


१३ असार २०७९, सोमबार ११:३० मा प्रकाशित

खोटाङको हलेसी मन्दिरको भेटीघाटी प्रत्येक ३ दिनमा गणना गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिरको भेटीघाटीलाई थप व्यवस्थित र पारदर्शी बनाउन प्रत्येक ३ दिनमा गणना गरेर सार्वजनिक गरिने भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईका अनुसार जेठ, असार, साउन, भदौमा हप्तामा १ पटक र अन्य महिनाहरुमा प्रत्येक ३ दिनमा भेटीघाटी गणना गरिनेछ ।

यसअघि भक्तालु तथा दर्शनार्थीले मन्दिरमा चढाएको नेपाली रुपैयाँ, भारु, अमेरिकी डलर, सुन, चाँदी, गहनालाई १८÷२० दिनमा गनेर सार्वजनिक गर्ने र माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गर्ने गरिएको थियो ।

तर, त्यसलाई पनि अझै व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले आठ महिनामा प्रत्येक ३ दिन र चार महिना हप्ता दिनमा १ पटक भेटी गणना गरेर सार्वजनिक गर्ने व्यवस्था मिलाई मेयर राईले बताउनुभयो ।

भेटीघाटीलाई दुरुपयोग हुन नदिन नगरपालिकाले मन्दिरमा १७ वटा सीसी क्यामेरा जडान गरेको छ ।
मुलुकमास्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर मन्दिरमा संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here