फुङलिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।
यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनु भयो ।
आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँले बताउनु भयो ।
एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिनुभयो।





