मेचीनगर । नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संगठनको ४३ औँ स्थापना दिवसको अवसरमा विहीबार झापाको मेचीनगरको लक्ष्मीनारायण मन्दिर पसिरमा मेचीनगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए ।
संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई हस्तान्तरण गरिएको छ । संस्थाका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङलगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।





