नमीन ढकाल, इलाम । इलामको सुर्योदय नगरपालिका आजबाट सुरु भएको दोश्रो आमन्त्रण मेयरकप फुटबलमा आयोजकले बिजयी सुरुवात गरेको छ ।
करफोक माविको खेलमैदानमा आयोजक सुर्योदय नगरपालिकाले अर्जुनधारा नगरपालिका झापालाई ४–० ले हरायो । मौसम प्रतिकुल बनेको खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले २८ औ मिनेटमा गोलको खाता खोल्यो ।
सुर्योदयका संगम योल्मोले बिपक्षी टिमको गोलरक्षकको हातबाट फुत्किएको बललाई जाली चुमाए ।पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा आयोजकले ३ गोल थप्यो । ५७ औ मिनेटमा पेम्बा योल्मो,६१ औ मिनेटमा संजोग खडका र इन्जुरी समयमा अतिरिक्त खेलाडी आशिष राईले गोल गरेपछि अर्जुनधारा प्रि–क्वाटरफाइनलबाटै बाहिरियो । बिजेता टिमले शिवसतासी नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्र्तगत आइतबार इलाम नगरपालिका र कनकाई नगरपालिका तथा दमक नगरपालिका र देउमाई नगरपालिकाबिच खेल हुनेछ । जेठ १८ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख तथा उपविजेता टिमले नगद १ लाख प्राप्त गर्नेछ ।सुर्योदय नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा इलाम र झापाका ९ नगरपालिकाको सहभागीता रहेको छ ।





