एसपीपी अघि नबढ्ने स्पष्ट : डा नारायण खड्का


३ असार २०७९, शुक्रबार १३:१७ मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढ्ने स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सरकारले नै एसपीपी सम्झौता नहुने भनेपछि यसको च्याप्टर क्लोज भइसकेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेको जिकिर गर्नुभयो । एसपीपी राष्ट्रिय हितमा नरहेकोले अव अघि नवढ्ने उहाँको भनाई छ ।

बैठकमा सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको बताउनुभयो । तर सैन्य गठबन्धनका लागि नलेखिएको उहाँले बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभयो । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उहाँले दिनुभयो । आफ्नो अमेरिका भ्रमणका क्रममा कुनै सम्झौता नहुने उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एसपीपीका बिषयमा कन्फ्युजन पैदा भएको बताउनुभयो । उहाँले कसैको दवाबमा मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

एसपीपीकाबारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले जानकारी दिनुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा एमालेका नेता भीम रावलले एसपीपीमा कुरा नगरौ भनेर परराष्ट्रमन्त्रीले भन्न नमिल्ने भन्दै यसबारेमा जनताले थाहा पाउनुपर्ने बताउनुभयो । एसपीपीबारे सबै कुरा बाहिर आइसकेपछि यस बिषयमा स्पष्ट हुनुपर्ने उहाँको भनाई छ । उहाँले यस बिषयमा अध्ययन गर्न संसदीय छानविन समिति बनाउन प्रस्ताव गर्नुभयो ।

त्यस्तै बैठकमा एमालेका नेता प्रदीप ज्ञवालीले एसपीपीबारे सेना र रक्षा मन्त्रालयले गरेको प्रक्रियाका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो । त्यस्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here