काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको बैठकले रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएको हो ।
रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा गम्भिर ध्यानाकर्षण भएको सभामुख अग्नी सापकोटाले बताउनुभयो । उहाले कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिनुभयो ।
त्यसअघि बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले समयमा नै समयमा मल नल्याउने कतिपयको ठेक्का रद्द गरेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाले अहिलेको टेन्डर प्रक्रियामा मल ल्याउन २ सय २६ दिन लाग्ने भएकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मल अभावलाई अन्त्य गर्नका लागि भारतसँग जीटूजी प्रक्रियाबाट मल ल्याउने प्रयास भइरहेको उहाले बताउनुभयो । मन्त्री यादवले असार मसान्तभित्र प्रयाप्त मल आउने पनि दावी गर्नुभयो ।
मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएका कारण पनि त्यसको प्रभाव नेपालमा परेको जिकिर गर्नुभयो ।





