झापा । बिर्तामोड नगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने भएको छ ।
नगरका सबै वडामा असार ४ गतेदेखि १७ गतेसम्म अभियानकारुपमा लार्भा नष्ट गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको हो । यसका लागि विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली तयार रहेको नगरका जन स्वास्थ्य निरिक्षक ओमबहादुर खड्काले जानकारी दिनु भयो । विषादी छर्कीएको ठाउँमा रहेका फलफुल तथा तरकारी ७ दिनसम्म प्रयोग गर्न नहुने र त्यसपछि पनि १४ दिनसम्म काँचै खान नमिल्ने,राम्रोसंग पकाएर मात्रै खानु पर्ने खड्काले बताउनु भयो ।
एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारीरुपमा काम गर्ने छ । लामखुट्टेबाट उत्पादन हुने रोगहरु निमुर्ल गर्नका लागि यो अभियान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लार्भा नष्ट गर्ने विषयमा सोमबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आयोजना गरीएको अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले लामखुट्टेको कारण सर्ने रोगहरुबाट बच्न यस अभियानलाई सबैजना लागेर प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले मानव स्वास्थ्यमा केहि हानिकारक रहेकोले विषादीलाई सुरक्षित ढंगले छर्किनु पर्ने बताउनु भयो । यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अभियान सफल बनाउनका लागि जनप्रतिनिधि,टोलविकास संस्था,प्रहरी प्रशासन सबै लाग्नु पर्ने बताउनु भयो । यस्तै प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले नगरमा श्रोत न्युन रहेकोले ग्रामिणक्षेत्र भन्दा जनघनत्व बढी भएको ठाउँमा प्राथमिकता दिने बताउनु भयो । एक हजार ४ सय ६८ ट्याकींमात्रै विषादी रहेकोले यसले १ लाख ४६ हजार ७९५ वर्गफिटमा मात्रै पुग्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी,इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख रुगमबहादुर कुँवर, औषधी व्यवसायी संघ झापाका महासचिव जिवन खड्काले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी,विर्ता लेडि जेसिसकी अध्यक्ष संगीता चिमरीया लगायतको उपस्थिति रहेको थियो ।






