अज्ञात रोगका कारण भटाभट बंगुर मर्दै, एकै किसानका ५८ वटा बंगुर मरे


३० जेष्ठ २०७९, सोमबार ११:२४ मा प्रकाशित

मेचीनगर । मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ ।

२०७७ सालमा ‘स्माट एग्रो फर्म ’दर्ता गरेर झापाको मेचीनगर –५ मंगल चोकमा करिब ४७ लाख रुपैयाँ लगानीमा ‘स्मार्ट बंगुर फर्म’ मा दुई वर्षदेखि व्यावसायिक रूपमा बंगुर पालन गर्दै आउनु भएका राईले एक सातामै ५८ वटा बंगुर मरेपछि लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परेको पीडा सुनाउनुभयो । कृषि क्षेत्रमा लागेर जीविका चलाउँला भनेर राई दम्पति बंगुर फर्म दर्ता गरेर व्यावसायिक कृषि कर्ममा लाग्नु भएको थियो । ती बंगुर मासुको प्रयोजनका लागि पालिएका हुन् ।

उहाँलाई खोरमा भएका अरु २४ वटा बंगुर कसरी बचाउने भन्ने अर्को चिन्ता पनि थपिएको छ । व्यवसायिक रुपमा ८ वटा उन्नत जातका बंगुरबाट व्यवसाय शुरु गर्नुभएका राईका ९४ वटा बंगुरमध्ये १२ वटा केहीदिनअघिमात्र विक्री गरेको सुनाउनुभयो ।

खोरमा भएका ८२ मध्ये एकसाताको अवधिमा ५८ वटा बंगुर मरेको पीडित राईको भनाइ छ । उहाँका अनुसार दैनिक ६ देखि ७ वटासम्म बंगुर मर्ने गरेका छन् । यसविषयमा पशु चिकित्सकहरुसँग परामर्श गर्दासम्म रोग पहिचान हुन नसकेको राईको भनाइ छ । उहाँको खोरमा ल्याण्डप, पाख्रीवास,डिउरो, होल्याणजस्ता उन्नत जातका बंगुर छन् । तर, राई फर्ममा रहेको बंगुरका माउ र पाठापाठी अज्ञात रोगको कारण धमाधम मर्न थालेपछि उहाँको निन्द्रा हराएको छ ।

हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले भने कुनै ल्याब परीक्षण नगरेको र विभागले जनाएको छ । विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईका अनुसार अघिल्लो पटक यस्तै समस्या आएका कारण ल्याब परीक्षण गरिएको र यो पटक आवश्यक परे जिल्लाको समन्वयमा ल्याब परीक्षणका लागि पठाउने तयारी छ ।

राईको फर्म बंगुर मर्ने क्रम जारी रहे पनि कुन रोगले मरेको हो पशु सेवा विभागले थाहा पाउन सकेको छैन । रोकथामका लागि गर्नुपर्ने उपायका बारेमा एन्टिबायोटिक औषधिको प्रगोगका लागि सुझाव दिदैं यहि औषधिमात्र प्रयोग गरिरहेको पशु प्राविधिक राईको भनाइ छ । ‘अहिले नयाँ भाईरल पीपीआरएस देखिएको छ । शायद यही हुनुपर्छ ’ पशु प्राविधिक राईले भन्नुभयो —‘यो भाइरलले गर्भवती बंगुरलाई गाहे पार्छ, यो रोगबाट संक्रिमत बंगुरले बच्चा जन्माई हालेपनि खासै बाच्दैंनन्, मरे पछि शरीरमा रातो रातो दाग देखिन्छ । ’

हाल मरेका बंगुरको लक्षण हेर्दा ज्वरो आउने, चारो नखाने, छेर्ने, वान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातदेखि दसदिनमा मर्ने गरेकोको उहाँको भनाई छ । एक पशु चिकित्सकका अनुसार अफ्रिकन स्वाइन फ्लुको संक्रमण फैलँदा ठूलो मात्रामा बंगुर मर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here